Written Stories

जब आफ्नै शरीर आफैलाई प्रताडित गर्छ

01 May, 2021 By: नविन अधिकारी, हे.अ.

A Case of Systemic Lupus Erythematosus

मिति २०७६ कार्तिक २० गते वर्ष ४७ का राम रतिया चौधरी मेरो ओपिडीमा मुखको भित्रपट्टी पोलेको ठाँउ फुटेर पानी बगेजस्तै देखिने घाउ अनि खाना निल्न समस्या लिएर आउनु भयो । बिरामीलाई हल्का ज्वरो पनि भएकोले ५ दिनको लागि खाने एन्टिवायोटिक, ज्वरोको लागि सिटामोल र मुख भित्र लगाउन मिल्ने क्लोरहेक्जिडिन मलम लेखिदिएँ र तीन दिनमा फलोअपको लागि बोलाएँ । साथै समस्या बढेमा तुरुन्त अस्पताल जाने सल्लाह पनि दिएँ । बोलाएको धेरै बिरामी विरलै फलोअपमा आउने सबै ठाँउको समस्या हो, यँहा पनि यस्तै भयो । बिरामी या त ठिक हुन्छन् या त थप उपचारका लागि अन्य अस्पताल जान्छन । मिति २०७६ मंसिर २४ गते राम रतिया चौधरी अत्यन्तै शिथिल शरीर, अनुहार भरि घाउको दाग, पुरानै ओपिडी टिकट लिएर ड्रेसिंङ गर्नुपर्ने बताउँदै आउनु भयो । मैले के समस्या भयो भनी सोधे अनि शरीरमा घाउ रहेको, अस्पतालले नियमित ड्रेसिङ गर्न सल्लाह दिएको बताउनु भएपछि ड्रेसिङ लेखिदिएर पठाएँ र अन्य बिरामी हेर्न थाले । एकैछिनमा मलाई ड्रेसिङ्ग रुमबाट एकपटक सो बिरामीको घाउ हेरिदिनु पर्याे भनेर खबर आएपछि म ड्रेसिङ्ग रुम पुगें । बिरामीको छाती र पेट भरि यति धेरै घाउ र दाग थिए जुन म कल्पना पनि गर्न सक्दिन, ओहो यस्तो विभत्स अवस्था ।

शरीर भरि घाउनै घाउका दाग, पाप्रा नै पाप्रा, टाउको पछाडी पट्टी भख्खर टाका खोलिएको घाउ, तल्लो पेटमा पुरानो पाकेको घाउ जुन अझै निको भएको छैन जसको नियमित ड्रेसिङ्ग गर्नुपर्ने रहेछ । त्यो घाउ (अल्सर) करिव १ सेमी गहिरो थियो । बिरामीसँगै आएको आफन्तले अस्पतालमा सो घाउबाट थुप्रै किरा (म्यागट) निकालिएको बताएपछि म आत्तिएँ । शरीरमा कीरा निकालिएको पुरानो घाउ छ र छातीभरि काला टाटैटाटा, पाप्रैपाप्रा कति कहाली लाग्दो, कति टिठ लाग्दो अवस्था । यो घाउ निकै पुरानो हुँदो हो । पहिलो पटक बिरामी आउँदा नै हँुदो हो यो समस्या । किन त्यतिखेरै बताएनन् भने झै पनि लाग्यो, सायद मैले नै राम्रोसँग सोधिन होला कि भनेर हिनतावोध पनि भयो । सिस्टरलाई अल्सर र अन्य घाउ ड्रेसिङ्ग गरिदिन भने र थप जिज्ञासा मेटाउन बिरामीको आफन्तलाई भित्र बोलाए ।

उनको आफन्तको अनुसार मुखको भित्री भागमा घाउ आएर स्वास्थ्य चौकीमा उपचार गरेर गएको तेश्रो दिनमा त्यस्तो पानी बग्ने घाउ दुबै गालामा आएको देखिनुको साथै ज्वरो पनि बढेर बिरामीलाई थप उपचारको लागि लगिएको र करिब २० दिन अस्पताल भर्ना गरेर उपचार गरेर ल्याईएको रहेछ । अस्पतालमा रहँदा नयाँ समस्या बढ्दै गएको र उपचारको क्रममा अस्पतालले किड्नीमा समस्या रहेको साथै यसको उपचार पनि जटिल रहेको बताएको रहेछ ।

मलाई थप जान्न मन लागेको हुनाले भोली आउँदा अस्पतालले दिएको सबै कागजात लिएर आउन आग्रह गरें । भोलीपल्ट अस्पतालको डिस्चार्ज पत्र सहित बिरामी आउनु भयो । सो डिस्चार्ज पत्रमा अस्पतालमा विरामीको बसाईलाई छोटकरीमा यसरी उल्लेख गरिएको थियो :
- मुख भित्र र अनुहारमा पानी बग्ने घाउ र ज्वरोको समस्या लिई आएको । डर्माटोलोजी विभागबाट सम्भावित Pemphigus vulgaris उपचारका लागि भर्ना ।
- सर्जरी विभागसँग कन्सलटेसन गरी पेटको अल्सरको जाँच र म्यागट (maggot) निकालिएको ।
- थप परिक्षणबाट ascites देखिएकोले पेट रोग विषेशज्ञसँग परामर्श ।
- अस्पतालमा उपचारकै क्रममा बिरामी लडेको र Occipital region (टाउको पछाडी) मा चोट लागेको र suture गरिएको ।
- प्रयोगशाला परिक्षणमा 24 hours urinary protein जाँच (1015 mg/day) र Anti-nuclear antibodies (ANA test 70 (positive) देखिएको र सम्भावित Lupus Nephritis (Systemic Lupus Erythematosus) भनि नेफ्रोलोजी विभागलाई जिम्मा दिईएको, अस्पताल बसाईमा गोडा सुन्निने समस्या देखिएको र करिब २० दिन उपचार गरी डिस्चार्ज गरिएको ।

Lupus Nephritis/ Systemic Lupus Erythematosus/ LUPUS :

Lupus Nephritis अत्यन्तै जटिल समस्या हो जुन SLE एउटा अवस्था हो । SLE एउटा chronic auto-immune disease अर्थात मानव शरीरमा आफ्नै शरीरको प्रतिरक्षा प्रणालीले गर्दा उत्पन्न हुने जटिल अवस्था हो । आफ्नै शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै शरीरको स्वास्थ्य कोषिकाहरुलाई बाह्य तत्व (Antigen) सम्झिएर auto antibodies बनाई आक्रमण गरि क्षति पु¥याउने, वहुअंगहरुमा सुजन हुने गर्दछ । यसमा auto-nuclear antibody को विशेष भूमिका रहेको हुन्छ । यो अवस्थामा सामान्य देखि जटिल छालाको समस्या, कपाल झर्ने, उच्च ज्चरो, जोर्नीमा दुखाई हुने जस्ता लक्षण देखिन्छ भने जटिल अवस्थामा मुटु, मृगौला, रक्त कोषिका, फोक्सो, स्नायु प्रणाली लगायत अन्य मुख्य अंगहरुमा असर गर्दछ । SLE को मुख्य तीन लक्षण (Traid) भनेको ज्वरो आउने, जोर्नी दुख्ने र छालामा दाग (Malar rashes) आउने हुन्छ । मृगौलामा हुने Lupus लाई नै Lupus Npehritis भनिन्छ । SLE को खास कारण थाहा नभए पनि जैविक गुण र वातावरणीय प्रभावहरुको trigger लाई जिम्मेवार मानिन्छ । यो समस्याको सुरुवात सामान्यतया १५–४५ वर्ष उमेर समुहका महिलाहरुमा हुने गर्दछ । अध्ययनहरुका अनुसार SLE बिरामीमा 90% भन्दा बढि महिला हुन्छन् भने 60% SLE बिरामी Lupus Nephritis को जोखिममा रहन्छन । Lupus Nephritis को समयमै उपचार नभए मृगौला failure हुनसक्छ । Lupus समस्या पुर्णतया निको पार्न सकिदैन । जुन अंगहरु प्रभावित छ र जे जस्ता लक्षण देखिएको छ सोही वमजिमको उपचार पद्दति विषेशज्ञहरुले अपनाउँदै आउनु भएको छ । SLE उपचार immune system सँग सम्बन्धित रहेकाले immune system लाई कमजोर बनाउने खालको corticosteroids हरुको प्रयोग मुख्य मानिन्छ । तर यस्तो औषधीको प्रयोगले अन्य रोग तथा समस्या निम्त्याउन सक्ने हुँदा विशेष सावधानी अपनाउनु पर्दछ ।

रामरतियालाई अहिले कस्तो छ ?

सार्वजनिक बिदा बाहेक हरेक दिनजसो उँहा डेसिङ्गको लागि आउनुहुन्छ । पेटको घाउ धेरै ठिक भर्ईसक्यो । काला टाटामा बिस्तारै नयाँ छाला देखिंदैछ । करिब एक महिनाको नियमित सम्पर्क पछि भावानात्मक सम्बन्ध पनि जोडिएको छ । नियमित जसो सिस्टरहरु नै डेसिङ्ग गर्नुहुन्छ र पनि मलाई घाउहरु हेरदिन भन्दै बोलाउनुहुन्छ । कुनैदिन आउनु भएन भने सोधखोज गर्छाैं । नियमित फलोअपमा जानु हुन्छ, डाक्टरहरुले सुधार हुँदैछ भनेका छन् भन्दा उहाँको मुहारमा खुशी झल्किन्छ । आर्थिक अवस्थाको कमजोरीको वावजुत पनि दृढ संकल्प छ जीवन प्रति । स्वास्थ्य विमा कार्यक्रमले गर्दा राहत मिलेको रहेछ । दोस्रो पटक आउँदाको त्यो मलिन मुहार, शिशिल शरीरमा थोरै मुस्कान, थोरै आशा र धेरै आत्मविश्वास देख्न थालेको छु । शिघ्र स्वास्थ्य लाभको कामना रामरतियालाई ।

नविन अधिकारी, हे.अ.
कठर स्वास्थ्य चौकी

Share this: