Written Stories

पैसामा होइन सेवामा समर्पित छ यो जिन्दगी

01 May, 2021 By: पार्वती अर्याल, स्टाफ नर्स

आकाश कालो निलो भएको थियो, हिउँले ढाकिएर पहाड सेताम्मे देखिएको थियो । दिनभर राष्ट्रिय हात्तीपाइले निवारण अभियानमा आफ्नो दायित्व पुरा गर्दै पानीले जिउ भिजेर गाँउ घुमेकोले, अङ्ग अङ्गले चिसो तातो थाहा पाउने अवस्था थिएन र मस्तिष्कमा देशका नेता सहितका ठूला व्यक्तिहरु चढेको हेलिकप्टर दुर्घटनाको भयावह समाचार घुमिरहेको थियो । तैपनि यो ज्यानलाई रात्रीकालिन डयुटी पुरा गर्न तत्पर हुनुपर्ने थियो । दिनभरको थकान र पानीमा भिजेको चिसोले रात्रीकालिन डयुटीमा कसैको पनि आगमन नहोस भन्ने मनले भनिरहेको थियो । तर कँहा सोचे जस्तो हुन्थ्यो र ?

रातको ११ बजे एकजना महिला प्रसूति व्यथाले छट्पटाएर आउनु भयो । उँहाको प्रसूति भने सजिलै भयो । सबै काम सकेर उँहालाई आरामका लागि प्रसूति कोठामा राखी एकछिन आराम गर्दै थिएँ फेरी ईमर्जेन्सी कक्षमा रक्ताम्मे भएर एकजना पुरुषलाई ल्याइएको थियो । टाउकोमा सुचर गर्नुपर्ने र नाकबाट रगत बगिरहेको थियो । उँहालाई ईमर्जेन्सी म्यानेजमेन्टपछि पाल्पा रिफर गरियो । बिहानीपख करिव पाँच बजेतिर एउटा टयाक्सीमा एकजना गर्भवती महिला आईन । भित्र लिएर बेडमा तुरुन्त राखी सबै कुरा चेकजाँच भयो । महिला पहेंलो देखिएको, हातखुट्टा ओठ निलो देखिएको अनि पेटमा दुईटा बच्चा cervice पुरै dilate भएको र membrane पनि rupture भइसकेर प्रसूतिको दोश्रो चरणमा रहनु भएको थियो । म एक्लै डयुटीमा थिएँ, अध्याँरो पनि थियो, चिसोको त बयान गरी साध्य नै थिएन । तुरुन्त डा. दिलिपलाई कल गरें । उँहा आईपुग्नु भयो र तुरुन्तै पहिलो बच्चा डेलिभरी भयो पनि । तर पहिलो बच्चा नरोएपछि डा. दिलिप त्यतै व्यस्त हुनुभयो, यता आमा त्यस्तै । History लिने र प्रश्न सोध्ने समय बाँकी थिएन । दोश्रो बच्चा भन्दा पहिले cord prolapse भयो । जसोतसो cord भित्रै धकलेर बसिरहें । आमाको अनुहार हेर्दै बच्चा कुर्दै अर्को पुसिङको आशामा सेकेण्ड गन्दै थिए । धन्न धेरै बेर लागेन, केही समयको bag and mask पछि पहिलो बच्चा रुन सुरु ग-यो । सँगै दोश्रो बच्चा डेलिभरी भयो । फेरी दोश्रो बच्चा पनि रोएन र फेरी bag and mask गर्नुप-यो । यता आफ्नो खुट्टाले भुँइमा टेकेको अत्तोपत्तो थिएन । Placenta delivery त भयो अब के चाहिन्थ्यो, PPH को पालो आयो । डा. दिलिप PPH भयो भनेर कराउनु बाहेक अर्को विकल्प थिएन । सहयोग माग्नुको लागि स्टाफ को बाँकी थियो र नाइट डयुटिमा आइपुग्ने । डा. दिलिप Uterine massage गर्न लाग्नु भयो, म चाँही vein खोल्दै । कहाँ सजिलो थियो र vein open पनि बल्लबल्ल २२G को Cannula राख्न सफल भँए । कार्यालय सहयोगीलाई इन्जेक्सन र सलाईन तातो पानीमा डुबाएर दिनु भन्दै माग्दै धेरै बेरको प्रयासपछि PPH बन्द भयो तर आमा shock मा गैसकेकी थिइन । बच्चाहरु पनि साना–साना (२ के.जी. र २.२ के.जी.) का थिए । उनीहरुलाई भिजिटरको जिम्मा लगाएर आमातर्फ नै व्यस्त भयौं । यस्तै क्रममा सासुलाई सोध्दा पहिला चिसोले पहेलो निलो भएको बुहारीलाई दमको रोग थियो भन्ने कुरा पनि थाहा भयो । रगतमा हेमोग्लोबिनको जाँच गर्दा 8gm/dl देखियो । Tab Mesoprost, Inj. Tranostat
र antibiotic अनि Inj I/V fluid को व्यवस्था गरिसकेपछि मात्र रक्तचाप 80/60 mm/Hg भयो । त्यतिन्जेल बिहानको १० बजेको थियो तर सुत्केरीको अनुहार भने पहेंलो नै देखिन्थ्यो । Blood transfusion नगरी नहुने कुरा छर्लङ नै थियो । उनको र मेरो Blood Group B Positive नै रहेछ । त्यसपछि मैले आफ्नो शरीरको एक पिन्ट रगत दिएँ र अर्को सिस्टरलाई care को जिम्मा दिएर घरमा पुगे ।

त्यतिमा मात्र आफ्नो ड्युटी कहाँ सकिएको थियो र । राष्ट्रिय कार्यक्रम हात्तीपाइले निवारणमा घरघरमा, स्कुलमा पुगेर औषधी खुवाउने आफ्नो जिम्माको ईलाका तिर फेरी थकित र बिचलित शरीरको गह्रौँ भारी बोकेर निस्किएँ फेरी साँझ स्वास्थ्य केन्द्रको रुटिन अनुसारको नाइट ड्युटी पुरा गर्ने गरी । साँझ ड्युटीमा जाँदा केही राम्री भएकी विरामी रक्तचाप 100/60 mmHg मा मेन्टेन थियो । भोलिपल्ट उनकै आमाजु दिदी पर्नेलाई ल्याएर एक पिन्ट रगत दिइयो र पर्सिपल्ट नगरपलिकामा कार्यरत कर्मचारीले एक पिन्ट रगत दिनुभयो । यसरी चार दिनको बसाईको क्रममा तीन पिन्ट रगत पाएपछि चौथो दिनमा हेमोग्लोबिन 99m/dl र काखमा दुई छोरी बोकेर नयाँ जीवन पाएकी महिला हसिलो अनुहार लिएर घर गईन । व्यवस्थित सिस्टम र सप्लाईको अभावै अभावमा गुज्रिएको विकट वस्ती भित्रको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर दिलिप, ल्यावका भाई किसान शाही लगायतका स्टाफहरुको अनवरत प्रयासमा ती महिलाले पाएको नयाँ जीवनको कथा देखेर आँफैमा हर्षित हुन्छ यो मन अनी खुशी लाग्छ आफ्नो नर्सिङ पेशा प्रति र छाती ठोकेर भन्न मन लाग्छ पैसामा होइन सेवामा समर्पित छ यो जिन्दगी ।

पार्वती अर्याल
स्टाफ नर्स, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र

Share this: