Written Stories

यातायात विहिन बाजुरा जिल्ला अस्पताल – जीवनको पहिलो डरलाग्दो क्षण

19 Jun, 2017 By: Dr. Durga Raj Maharjan

गत वैशाख महिनाको अन्तिम हप्ता, म विभिन्न कठिनाई सहित आफ्नो कार्यथलो बाजुराको मार्तडीको जिल्ला अस्पतालमा पुगेको केही दिन भएको थियो, मसँगै बसमा बाजुरा आउनु भएकि पान्डुसेन हेल्थपोष्टमा कार्यरत नर्सिङ स्टाफ मधु श्रेष्ठले राति करीव १० बजे तिर मलाई फोन गरेर भन्नुभयो – “डाक्टर साव ! एकजना गर्भवति आमा जो भर्खरै यहाँ आइपुग्नु भएको थियो, उहाँको पेट भित्रको बच्चाको हात र नाल दुवै अचानक बाहिर निस्क्यो, र पाठेघरको पानी पनि आफै बगेर आयो ।”

उहाँको यो कुरा फोनमा सुनेर म अक्क न बक्क भएँ । हेल्थपोष्टमा डेलिभरि गर्न असम्भव थियो भने यता मार्तडी जिल्ला अस्पताल आउन पनि ५–६ घण्टा लाग्ने थियो । बढो मुस्किलले गाउँको जिपमा राखेर रातिको ३ बजेतिर विरामीलाई जिल्ला अस्पताल ल्याई पु-याईयो । विरामीको जाँच गर्दा बच्चाको मुटुको धड्कन सुनिएन र आमाको अवस्था पनि नाजुक तथा शिथिल पाइयो । बच्चा तेर्सो (Transverse Lie) बसेको रहेछ । यदि तुरुन्तै बच्चाको डेलिभरि (Delivery) गर्न नसकेको खण्डमा आमा र बच्चा दुवैको ज्यान जान सक्ने अवस्था थियो ।

आमाको ज्यान कसरी बचाउने भन्ने नै मूख्य चुनौति थियो । त्यसैले विरामी र कुरुवाहरुलाई विरामीको अवस्थाबारेमा बुझाउने प्रयासमा म लागें । प्राकृतिक रुपमा Vaginal Delivery गराउँदा पाठेघर फुटेर आमाको पनि ज्यान जान सक्ने अवस्था भएको र आमाको हालत पनि सुस्त र थकित भएकोले विरामी र विरामी पक्षको मन्जुरीमा अपरेशन नै गर्ने निर्णय भयो ।

मेरो NSI टिमको सहयोगी मे.अ. डाक्टर छुट्टीमा हुनुहुन्थ्यो । त्यसैले अस्पतालको DHO सँग सल्लाह पछि डा. रोहितलाई सहायताको लागि पठाइयो । तर उहाँ सुत्केरी तालिम प्राप्त हुनुहुन्थिएन । अपरेशनको लागि सबै टोली तयार पारियो र सबै प्रक्रिया पुरा गरेर अपरेशन शुरु गर्दा विहानको ५ बजेको थियो ।

बच्चा निकाल्न धेरै गाह्रो भयो । पाठेघर खुम्चेर बसेको र पाठेघरको पानी पनि सुख्खा भइसकेकोले बच्चालाई बाहिर निकाल्न त के हल्लाउन पनि हात्तीलाईृ चलाउनु भन्दा गाह्रो भयो । एक हात तल निस्केको र अर्को हात अपरेशन गरेको ठाउँबाट बाहिर निस्केको छ, टाउको भेट्नु पर्नेमा शुरुमै बच्चाको अनुहार भेटियो । बच्चा निकाल्न आधा घण्टा भन्दा बढी समय लाग्यो । जसले गर्दा आमाको रगत धेरै बग्यो । ज्यान जोगाउन गरिएको अपरेशन मै ज्यान जाने भो भनेर मेरो मनमा डर लाग्यो ।

DHO डा. रुप चन्द्र बाहिर निस्केर रगतको व्यवस्था मिलाउन तिर लाग्नुभयो । धेरै खोज पश्चात अस्पताल कै नर्सिङ स्टाफ धनकला र एकजना कोपिला शाही नामकी रगतदाताको रक्तदानबाट उक्त आमाको ज्यान बचाउन हामी सफल भयौं । र एक हप्तापछि सकुशल हिंडाएर नै आमालाई घर पठायौं ।

मैले MBBS देखि MD गर्दा सम्ममा नि यस्तो अवस्थामा ५ मिनेटमा Emergency Caesarean (LSCS) गरेर दुवैको ज्यान बचाएको मात्र देखेको थिएँ । Transverse lie मा हात र नाल पहिल्यै निस्केमा ६–७ घण्टामा के के हुनसक्छ भनेर कितावमा मात्र पढेको थिएँ, तर देखेको थिईंन ।

यो मेरो जीवनमा अनुभव गरेको एउटा कठिन घटना हो । यो घटनाले मलाई बाजुरामा बाटो र एम्बुलेन्स नभएकोले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरेको मेरो ७–८ बर्षको अनुभवमा यति कठिन अनुभव गराएको हो जस्तो लाग्यो ।

जिल्ला अस्पतालमा विरामी आउने राम्रो बाटो छैन । गाडी आउनको लागि त झन सगरमाथा चढेभन्दा कठिन छ । अहिलेसम्म एम्वुलेन्सको व्यवस्था भएको छैन । सरकार र सम्बन्धित निकायले बेलैमा यसबारे गहन विचार गरे भविष्यमा यस्ता प्रकृतिका घटना दोहरिने छैन होला भन्ने ठान्दछु ।

डा. दुर्गा राज महर्जन
एमडिजीपी, बाजुरा

Share this: