निक

सन् २००२ मा निक साइमन्स नाम गरेका एकजना अमेरिकी युवा नेपालमा काम गर्न आएका थिए । साँस्कृतिक तथा भाषिक कठिनाईका वावजुद उनी नौ महिना नेपालमा बसे र नेपालप्रतिको गहिरो मायालाई सँगालेर उनी आफ्नो घर न्यूयोर्क फर्के । उनले आफ्नी आमालाई यदि कुनै दिन नेपाल जस्तो देशमा गई काम गरेर आफ्नो जीवन विताउन चाहेमा अचम्मित नहुन भनेका थिए । त्यसपछि उनले आफ्नो बाँकी अध्ययन पुरा गर्ने तयारीमा लागे जसले उनलाई मेडिकल शिक्षा पढ्नको लागि बाटो खुला गर्दथ्यो ।

सन् २००३ को गृष्म ऋतुमा इन्डोनेशियाको बालीमा पौडी खेल्ने क्रममा डुवेर दुर्भाग्यवश उनको देहान्त भयो । उनको देहान्त भएको करीव अढाई महिना पछि उनको अभिभावकहरु, दिदी बहिनीहरु र नजिकका केही साथीहरु आफूहरुलाई विल्कुलै केही थाहा नभएको ठाउँमा केही ठोस तथा राम्रा काम गर्ने आशामा नेपाल आए । यसको शुरुवात पाटन अस्पतालको प्रसुति वार्ड निर्माणको लागि आर्थिक सहयोगबाट गरे । त्यसको एक बर्षपछि उनीहरुले स्वास्थ्य व्यवसायीहरुको एउटा समूहलाई एउटा यस्तो संस्था बनाउन चुनौति दिए जुन एउटा जिउँदो स्मारक जस्तै रही देशको दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाबाट वन्चित जनतासम्म सेवा पु-याउन सकोस् ।

यो अवधारणाको वरिपरि रही कार्य गर्न धेरै मानिसहरु संलग्न भई कार्यदल गठन भए । यसै दौरानमा सो कार्यदलले संचालक समितिको चयन गर्नुका साथै संस्थाको लागि कर्मचारीहरुको भर्ना प्रक्रिया पनि शुरु ग-यो । उनका अभिभावकहरु जिम र मेरिलिन प्रत्येक बर्ष दुई पटक नेपाल आउँछन् । निक साइमन्स इन्स्टिच्यूटको साझेदार हुनसक्ने विभिन्न आठवटा अस्पतालहरु घुम्ने क्रममा उनीहरुले देशका केही अति दुर्गम ठाउँहरुमा पनि यात्रा गरेका थिए । उहाँहरु भन्नुहुन्छ, “नेपाल, निकले हामीलाई दिएको एउटा उपहार हो र यहाँ हामीले धेरै जना राम्रा मानिसहरु भेट्यौं जसलाई हामीले कहिल्यै चिन्ने थिएनौं ।”

जुन संस्थाको स्थापना भएको छ त्यो केवल विकासे संस्था मात्र हैन । मानिसहरुले यो संस्थाको कार्यक्रमहरुका बारेमा मात्र नभई उनीहरु र त्यसको पछाडि रहेको कथा पनि जान्न पाए ।

Share this:
निक साइमन्स