लिखित कथाहरु

सुनिता पुन र उनको आकांक्षा

28 Sep, 2016 By: डा. काशीम साह

यो कथा गुल्मी जिल्लाको बिरबासमा बस्ने ३० बर्षकी सुनिता पुनको हो । उनी पेशाले कपडा बुन्ने काम गर्छिन । उनले तीन बर्ष पहिले एक ब्यापारीसँग बैवाहिक बन्धनमा बाँधिएकी थिईन् । सन् २०१० मा उनी पहिलो पटक गर्भवती भईन् र ४०+२ हप्तापछि छोरालाई जन्माईन् । उनको प्रसवास्था सामान्य भए तापनि उनी घर फर्के लगत्तै उनको शिशु अकस्मात विरामी भयो र मृत्यु भयो ।

सोही बर्षको अन्ततिर सुनिता पुनः गर्भवती भइन् । दोस्रो गर्भधारणको तीन महिना पछि उनलाई एपेन्डिसाइटिस भयो र लुम्बिनी मेडिकल कलेज, पाल्पामा एपेन्डिसेक्टोमी गराइन् । भर्ना गरे लगत्तै उनको पेटको अल्ट्रासाउन्ड गरियो जसले सुन्निएको एपेन्डिक्स्का साथै पाठेघरमा ठूलो फाइब्रोइड (८.४ ह ४.३ से.मी.) रहेको देखायो । एक महिनापछि फाइब्रोइडको पुनः परीक्षण गर्न सुनितालाई फलोअप (अनुगमन) अल्ट्रासाउन्ड जाँच गराउन सुझाव दिइयो ।

अल्ट्रासाउन्ड स्क्यान

यो तस्बिरले उनको फलोअप अल्ट्रासाउन्ड जाँच देखाउँछ जसमा उनको पाठेघरको भित्री मुखको अघिलितर एउटा डल्लो (११.२ ह ८.३ ह १०.४) देख्न सकिन्छ । अल्ट्रासाउन्डको नतिजा हेरिसकेपछि प्रसुती विशेषज्ञबाट सेजरियन सेक्सन (पेट चिरेर बच्चा जन्माउने विधि) गरी बच्चा जन्माउन र त्यही समयमा फाइब्रोइड निकाल्नका लागि पाठेघर नै फालिदिन सुनितालाई सुझाव दिइयो । सुनिता यो कुराले दुःखी भइन् किनकी उनी भविष्यमा अर्को बच्चा जन्माउन चाहन्थिन् ।

गुल्मी अस्पताल, तम्घासका डाक्टरहरूले सेजरियन सेक्सन गर्छ भनेर केही साथीहरूले सुनितालाई भनेका थिए । उनले अस्पताल गई डाक्टरलाई भन्ने निधो गरिन् । जून २०११ मा उनी २ घण्टा यात्रा गरी आफ्नो गाउँबाट गुल्मी अस्पतालको बहिरङ्ग क्लिनिकमा पुगे । उनले मसँग पाठेघर फाल्न पर्दाको दुःख पोखिन्, उनले भविष्यमा सन्तान जन्माउने चाहना राखी पाठेघर फाल्न नचाहेको कुरा मलाई भनिरहेकी थिइन् । मैले सुनितालाई कति जना बच्चा जन्माउन चाहनु हुन्छ भनेर प्रश्न गरें । सुनिता भन्छिन् यो पहिलो प्रश्नले उनलाई पत्यारिलो बनायो र यो कठिन अवस्थाबाट छुटकारा पाउन हामीलाई विश्वास गर्न सकिने कुरा महशुश गरिन् । परामर्शको क्रममा बच्चा जन्मिने बेला भएपछि सेजरियन सेक्सन गर्ने कुरामा सहमति गरियो । मैले हाम्रो अस्पतालमा पाठेघर निकाल्ने शल्यक्रिया गर्नु पर्दाका कठिनाइ र सीमाहरूका साथै शल्यक्रिया गर्ने बखतमा पाठेघर ननिकाल्ने कुरा उनलाई  बताएँ । र रक्तश्राबको जोखिम धेरै भएको हुनाले फाइब्रोइड निकाल्न नसकिने कुरा पनि बताएँ ।

अगष्ट २० तारिखका दिन मेरो समूहले सुनिता पुनको सेजरियन सेक्सनको शल्यक्रिया गर्यो । शल्यक्रियाको दौरान एउटा ठूलो सब म्युकोजल फाइब्रोइड भएको मैले सुनिश्चित गरें । बच्चा जन्माइसकेपछि त्यस डल्लोलाई नजिकैबाट नियालें र दुईवटा धमनीहरूले रक्तप्रवाह गरिरहेको फाइब्रोइड हल्कासँग पाठेघरको भित्तामा टाँसिएको भेटें । मैले धमनीहरूलाई बाँधी त्यो फाइब्रोइडलाई पाठेघरको भित्ताबाट छुट्याउने कोशिश गरें । आश्चर्यजनक रुपमा यो सजिलै निस्कियो र थोरै रक्तश्रावका साथ सफलतापूर्वक हटाइयो । त्यो फाइब्रोइडको तौल ५५० ग्राम थियो । हिस्टोप्याथोलोजी परीक्षणको लागि फाइब्रोइडलाई लुम्बिनी मेडिकल कलेज, पाल्पाको हिस्टोप्याथोलोजी विभाग पठाइयो ।

अगष्ट २२ का दिन आफ्नो नव शिशुका साथ सुनिता पोस्ट अपेरेटिभ रुम (शल्यक्रियापछि राखिने कोठा) मा थिईन । उनी मुस्कुराइरहेकी थिइन् भने उनको शिशु पनि स्वस्थ थियो । यो परिणामसँग उनी धेरै नै खुशी थिईन् । उनी हामीसँग भन्दै थिईन “रोगबाट मुक्ती पाएको छु” ।

गुल्मी अस्पतालमा हाम्रो समूहको कामबाट यी महिलाको धेरै सन्तान जन्माउने आकांक्षा साकार पार्न सकिएको हो ।

पाठेघरको फाइब्रोइडहरू

पाठेघरको फाइब्रोइडहरू पाठेघरमा बन्ने नसर्ने खालका ट्युमरहरू हुन् । तिनीहरू विभिन्न नापका हुन्छन् र प्रायः लक्षणविहिन अवस्थामा रहन्छन् । यदि ठूलो छ भने लक्षणहरू देखा पर्छन् जस्तै पेट टम्म हुनु वा महिनावारी वीच रक्तश्राव हुनु । पीडादायी भएको खण्डमा औषधोपचार वा शल्यक्रियाबाट तिनीहरूबाट छुट्कारा पाउन सकिन्छ ।  औषधोपचारले फाइब्रोइडलाई सुकाउँछ भने शल्यक्रिया (पाठेघर समेत निकाल्ने) ले फाइब्रोइडलाई पूर्ण रुपमा निकाल्दछ ।

डा. काशीम साह
एमडीजिपी कन्सल्ट्यान्ट, एनएसआई
तम्घास अस्पताल, गुल्मी

Share this: