लिखित कथाहरु

आठौं सेजरियन सेक्सनको कथा

28 Sep, 2016 By: डा. आमोग बहादुर बस्न्यात

म कालीकोट आएको २ महिना बितेछ । आज बिहान हामीले गरेको सेजरियन सेक्सन आठौं थियो र मलाई लाग्छ यसलाई अलिकति फर्केर हेरिनुपर्दछ । यो बेला मनसुन उत्कर्षमा छ भने सडक र परिवहन चरम दुरावस्थामा छन् । यति नै बेला स्थानीयरुपमा उत्पादित विद्युत पुर्वानुमान गर्न पनि झनझन कठिन भैरहेको छ । कहिलेकाहीं भोल्टेज बढेर भुट्ने खालको हुन्छ भने कहिले चाहीं बत्ती नै नबल्ने हुन्छ । ती विशाल पहाडहरू माथि कैयौं दिनदेखि बाक्लो बादल डुलिराखेको छ । सौर्य ब्याट्री चार्ज हुने कुनै उपाय नै छैन । र यस्तै समयमा पहिलो पटक गर्भवती भएकी २० वर्ष उमेरकी होंची महिलाको सामना गर्नुपर्छ हामीलाई । रातभरिमा पाठेघरको खुम्चाई पनि कठोर भएको छ । धन्न, शिशुको धड्कन चाहीं सामान्य छ, ठूलो टाउको र दोश्रो डिग्रीको मोल्डिङ्गका बावजूद ।

मलाई ३.३० बजे बिहान अझै पनि स्थिति उस्तै नै छ भनी हरि सिस्टरबाट अर्को बोलावट आउँछ । त्यसैले सेफालोपेल्भिक डिस्प्रोपर्सन (शिशुको टाउको र आमाको पेल्भिसको अनुपात नमिलेको) यो केसको लागि सेजरियन सेक्सन गर्नुपर्ने कुरा स्पष्ट छ । बत्ती नभएको र सौर्य ब्याट्री पनि चार्ज नभएको यस बेलामा एक मात्र विकल्प भनेको पुरानो जेनेरेटर नै हो जुन मलाई थाहा भएसम्म केही समयदेखि चलिरहेको छैन । आश्चर्य मान्नु पर्दैन, जेनेरेटरमा के खराबी छ भने पत्ता लगाउन सक्ने कोही पनि विज्ञ आसपासमा छैनन् । यो पुरानो मेशिन चलाउन सक्ने अस्पतालका कर्मचारीहरूलाई म बोलाउन लगाउँछु र त्यसै बेला अन्तरङ्ग विभागका हामी भने सेजरियन सेक्सनको तयारीमा जुट्छौं ।

विद्युत कार्यालयमा अर्को कल गर्न लगाइन्छ र अन्तमा जवाफ आउँछ “होइन, हाम्रो कारण होइन, पावर हाउस (उर्जा गुह) आफैंमा काम गरिराखेको छैन ।” मैले इमान्दारीताका साथ भन्नु पर्छ यसको अर्थ मलाई थाहा छैन, तर मलाई के थाहा छ भने विद्युत हाम्रो पहुँचभन्दा बाहिर छ, आजको लागि मात्र हैन, अबको एकदुई महिना कै लागि । ओहो, यो त साह्रै राम्रो ! सोचे जस्तो जेनेरेटर पनि चल्दैन ।

अब, शल्यक्रिया कक्षमा हामी आबासको एउटा सौर्य बत्तीका साथ मात्र छौं । सक्सन छैन, अक्सिजन कन्सन्ट्रेटर छैन, स्याचुरेशन प्रोब र डप्लर पनि चार्ज गरिएका छैनन् भने तिनीहरूको चार्ज केही घण्टामै सिधिने अवस्थामा छ । कउट्री (डाम्ने मेशिन), निश्चय नै म यहाँ आएदेखि प्रयोग गरेको छैन । म भगवानको प्रार्थना गर्छु । हे प्रभु मलाई सबैकुरा तिम्रै शरणमा छाड्न देऊ । मलाई यो एक पटक कोशिश गर्न देऊ । कति मायाले म सम्झँदैछु त्रिवि शिक्षण अस्पतालको पर्खिने कोठा छेउको सेजरियन सेक्सनको त्यो शल्यक्रिया कक्ष, युनाइटेड मिसन अस्पताल, तान्सेनको हरबखतको पूर्वतयारी, पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको जनशक्ति उपलब्धता .........................!

थप सहयोगीका साथ यहाँ सेजरियन सेक्सन गर्न पाउनु त अहो भाग्य नै हो । नर्स र सहायक सर्जनको जिम्मेवारी एकै व्यक्तिले लिएका छन् । बेहोश पार्ने जिम्मा निश्चय नै मेरो हो । के हुन्छ यदि सबअराक्नोइड ब्लक असफल भएमा ? मलाई थाहा छैन, म के गर्नेछु । एक चोटी झण्डै यस्तो भएको थियो जब ब्लक केही समयपछि टालिएको थियो । त्यस बेला, कमसेकम डा. रुद्र (सरकारी छात्रवृत्ति करारको डाक्टर) हामीसँग हुुनुहुन्थ्यो, पूर्वप्रसुती ओपोइडको मात्रा र प्रसुती पश्चात् केटामिनको मात्रा सम्हाल्न । आज मलाई भाग्यले पनि साथ दिएन, उनी कार्यक्षेत्रभन्दा बाहिर छन् ।

जे भए पनि म गर्छु । ठिक ठाउँमा राख्छु, परामर्श गराउँछु, पेटको मध्यरेखा, बोसो सहितको छाला, अनि त्यो लिगामेन्टम फ्लाभम् चिर्छु ........ अनि यो के ? म त्यति स्पष्ट छुइन ....... तर सुषुम्ना रस बाहिर आउँछ र बहाव एकनासको छ । मैले विस्तारै हिच्किचाहटका साथ बुपिभ्याकेन ०.५% (बेहोश बनाउने इन्जेक्सन) लगाउँछु ........। धन्य भगवान, यसले काम गर्छ । चौथो– पाँचौ थोरासिक भर्टिब्रामुनिबाट उनी राम्रैसँग बेहोश भइन्, खुट्टा उचाल्न सक्दैन, दुखाई पनि छैन । यहाँ एउटा काम चाहीं गरियो ।

अब, हामी शल्यक्रिया थाल्छौं । हात धुन्छौं, गाउन लगाउँछौं, पञ्जा लगाउँछौं । पहिला छाला, अनि रेक्टस शिथ, लिनिया अल्बा चिर्न थाल्छौं........तन्काउनुस्, तन्काउनुस्, तन्काउनुस्......! यो तपाईंले सोचे जस्ता छैन सिस्टर... मुत्रथैलीमा पत्थरी हुन सन सक्दैन.... हे हे ! तपाईंलाई थाहै छ यो त बेलुन हो । फोलेज् बेलुन । यसको मतलब, मुत्रथैली अझै भित्र छ । त्यसैले हामी यो पेरिटोनियमलाई अझै चिर्नु छ । डोयनको । हो हामी अब यसरी थाल्छौं .... साधारण चिम्टा.... हैन यो दन्ते छ ... मलाई साधारण दिनुस् ..... हैन यो पनि हैन, यो त धमनी चिम्टा हो .... साधारण भनेको दन्ते नभएको क्या...... हा हा हा ! ठिक छ अब हामी मुत्रथैलीलाई तल धकेल्छौं । होशपूर्वक विस्तारै तन्काउनुस्.... सक्सन.....सक्सन....ओ माफ गर्नुस् सक्सन त छैन आज ! हरे.... !

ओहो टाउको त धेरै तल पो छ त, पेल्भिस भित्र, राम्रैसँग फसेको छ त..... के म यसलाई माथि उठाउन सक्छु...... सिस्टर, हेल्लो, कोही छ.... पञ्जा लगाएर यसलाई तल धकेल्न सक्ने ..... तपाईंलाई थाहा छ ? म के भन्दैछु ..... पेल्भिसमा टाउको साह्रै नै तलसम्म फसेको छ,.... यो सम्म त पुग्न कठिन छ...! प्रयास गर, प्रयास गर..., प्रयास गर.... ठिक छ, पञ्जा फुकाल्नुस् ..... मैलै यसलाई भेटाएँ । उ त्यहाँ छ..... टाउको, कुम, खुट्टा, तिघ्रा ........ अनि पूरै शिशु ..... आमाको पोको त छोरो पो रैछ त !

सालनाल झिकिसकेपछि, ग्रीन आर्मीटेज र २ नम्बरको क्याटगटले हामीले पाठेघर बन्द ग¥यौं, रक्तश्राव रोक्यौं । रेक्टस शिथ, छाला सबै सिलायौ. । शल्यक्रिया सम्पन्न गरियो । बत्ती थिएन, सक्सन थिएन .... तर काम फत्ते गरियो !!

आमा र शिशुलाई शल्यक्रियापछि राखिने कोठामा राखेर म आफ्नो कार्यकक्षमा गएँ । अस्पताल विकास समितिको पहिलो र एकमात्र बैठक भएको त्यो दिन मलाई अझै पनि सम्झना छ । त्यस दिन अस्पतालमा एक्स रे मेशिन नभएको विषयमा ठूलै हल्ला मच्चिएको थियो । “अब जिल्ला अस्पतालका डाक्टरहरूले गर्ने उपचार पनि धामीझाँक्रीले गरे जस्तै हुनेछ ....मात्र नाडी छामेको भरमा !” त्यति मात्रै कहाँ हो र ... तिनीहरूलाई गएर भनी दिनु हामी ठूला शल्यक्रिया पनि गर्दछौं भनेर, त्यो पनि बत्ती विना अध्याँरोमा ! त्यस्तो भन्दा कसो होला ?

ठट्टालाई छाडौं, यो एउटा त राम्रै भयो, त्यसैले यसबारे त्यति शिकायत पनि नगरौं । तर कुनै पनि बेला, कुनै पनि दिन यहाँ जे पनि हुन सक्दछ । निश्चय नै, यस्तै अवस्था रहन्छ भने अबका दिनमा के गर्ने ? को जिम्मेवार हुने ? त्यो जिल्ला विकास समिति जसले धेरै अगाडि थ्री फेजको विद्युत दिने वाचा गरेको थियो तर त्यसपछि हामीलाई कुनै वास्ता गरेन ? के त्यो विद्युत विभाग, जसलाई स्थानीय नेताहरूका घरघरमा नियमित आपूर्ति गर्ने आवश्यकता छ ? के अस्पताल प्रशासन जो कुहिरोमा हराएको कागलाई झैं मर्मतसम्भारबारे कुनै जानकारी छैन ? कि ती कार्यालय सहयोगीहरू जो सहयोगका लागि कहिल्यै तत्पर छैनन् ? निक साइमन्स इन्स्टिच्यूटले मलाई त्यस्तो ठाउँमा जिम्मेवारी दिई पठायो जहाँ न मेरो कुनै नियन्त्रण छ, न त कुनै अख्तियारी नै चल्छ ? र म अस्पताल प्रणालीमा हुने दुर्घटना र गलत काममा देखिने पहिलो व्यक्ति ? निःसन्देह यो म नै हुँ ।

तर अहिले आमा र शिशुको प्रफुल्ल अनुहारले मलाई पनि खुशी बनाएको छ । भगवान्, मलाई यो ठाउँमा पु¥याएकोमा तिमीलाई धेरै धेरै माया गर्दछु ।

डा. आमोग बहादुर बस्न्यात
एमडीजिपी
कालीकोट जिल्ला अस्पताल

Share this: