लिखित कथाहरु

सल्यान अस्पतालमा पहिलो सेजरियन सेक्सन

13 Sep, 2016 By: डा. सनिज सिंह

बि.स २०४२ सालमा तत्कालिन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको पहलमा सल्यान अस्पतालको स्थापना भएको थियो । सल्यान खलंगामा रहेको यो अस्पाताल मुख्य बजार क्षेत्रबाट ३ किलोमिटर टाढा छ । कुल १५ शैयाको यो अस्पतालले स्थापना काल देखि अहिले सम्म कुनै पनि शल्य चिकित्सकीय सेवा प्रदान गरेको छैन । मुख्यतया अस्पतालमा शल्य चिकित्सकीय सेवा शुरु गर्न र अस्पताल व्यवस्थित बनाउने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमडीजिपी  सकाए लगत्तै एनएसआई मार्फत म सल्यान अस्पताल पठाइए । आफुले भोग्नुपर्ने चुनौतीहरूबारे म पूर्णत सचेत थिएँ । सल्यान पुगी अस्पतालको अवस्था थाहा पाइसकेपछि मलाई थाहा भयो कि मैले शुन्यबाट थालनी गर्नुपर्ने छ । यो ठुलो कार्यको जिम्मेवारी महशुस सँगै मैले आफु सहयोग बिहिन भएको महशुस गरें यद्यपि मेरा मित्र डा. कृष्ण राउतले केही समयपछि मेरो साथ दिने कुराले मलाई काम थालनी गर्न हौस्यायो ।

अस्पतालबाट विगतमा कुनै पनि शल्यचिकित्सकीय सेवा प्रदान नगरिएको हुदाँ प्राय सबै कर्मचारी अनुभव विहिन जस्तै थिए । शल्यचिकित्सकीय सेवाको आधारभूत कुराबाट मैले तिनीहरूलाई जागरुक बनाई काम शुरु गर्नुपर्ने थियो । मैले सम्भावित शल्यचिकित्सकीय टोली बनाउन शुरु गरें । त्यसै समयमा उपलब्ध भएका र आवश्यक सामग्रीहरूका सूची तयार गरियो किनकी एनएसआईले हामीलाई सहयोग गर्न चाहेको थियो र ब्यग्रताका साथ सामग्री सूचीलाई पर्खेर बसेको थियो । पर्याप्त खानेपानीको अभावले हाम्रा सामू अर्को ठुलो चुनौती थप्यो ।  कालान्तरमा हामीले विस्तारै शल्यक्रिया कक्षको मर्मत गयौं र अपुग नै भएपनि पानीको नयाँ मुहान फेला पायौं । एनएसआईले हामीले माग गरे बमोजिमको सामग्रीहरू पठायो । ठिक त्यसैबेला, डा. कृष्ण राउत आउनुभयो र हाम्रो टिम दुईजनाको भयो । एकजना मेडिकल अधिकृत डा. बिशाल श्रेष्ठ, एनएसआईको सहयोगमा तानसेन अस्पतालमा एनेस्थेसियाको तालिम लिन जानुभएको थियो भने उहाँ फर्केपछि हामी ३ सदस्यको टोली भयौं । करिब ४ महिनापछि हामीलाइ सहयोग गर्न स्टाफ नर्स पूजा ओली आउनुभयो । सामग्रीहरू पनि त्यस समयमा आइसकेको थियो । हामी सबै शल्य चिकित्सकीय कक्षको स्थापनार्थमा जुटयौं र पाचौं महिनाको अन्ततिर हामीले सफलता पायौं । तैपनि निर्मलीकरणको समस्या जिउँकातिउँ भएकाले फर्मालिन निर्यात गर्नुपर्ने अवस्था थियो । यी सबै कार्यहरु सम्पन्न गरिसकेपछि सेवा दिन लायकको शल्यचिकित्सकीय कक्ष उपलब्ध भयो । साँच्चिकै कठिन परिश्रम गरेकामा हामीले गर्व महशुस गर्यौं ।  शल्यचिकित्सा सेवा सुरु गर्न अगावै रगत पनि चाहिने हुनाले प्रहरी सैनिक र स्थानीय युवाहरूको सम्भावित रक्त्तदाताहरूको सूची तयार गर्यौं ।

२०६८ चैत्र २७ गतेका दिन ३,२५० रुपैंया एम्त्रुलेन्स भाडा तिरेर १८ वर्षको शान्ती परियार अस्पताल आई पुगिन् । उनी उत्तर पश्चिमी सल्यानमा पर्ने सिध्देश्वरी गाविसका वासिन्दा हुन् । उनको साथमा कलिलै देखिने २१ वर्षका उनका श्रीमान राम प्रकाश परियार आएका थिए जो एसएलसी उत्तीर्ण थिए भने आफना अभिभावकलाई सिलाई कटाईमा सघाउँथे । विगत तीन वर्षदेखि वैवाहिक बन्धनमा बाँधिएका उनीहरू खरले छाएको र ढुगांले बनेको घरमा बस्दथे । उनीहरु २ जनाको सिलाईकटाईबाट मासिक ५००० रुपैयाँजति कमाउँछन् ।

शान्तीको यो पहिलो गर्भ थियो । स्थानीय स्वास्थ्य चौकीका माशिका मीना डिसीबाट उसले नियमित गर्भपरीक्षण गराएकी थिइन् । स्वास्थ्य चौकी उसको घरबाट करिब ४० मिनेटको पैदल दूरीमा छ । चैत्र २५ गते राती ७ बजेतिर प्रसव ब्यथा लागेपछि उनी स्वास्थ्य चौकी गइन । यद्यपि त्यसबेला उनी अदृश्य प्रसव व्यथामा थिइन् । प्रसव व्यथा लागिसकेपनि भोलिपल्टको ५ बजेसम्म पनि केही सुधार भएको थिएन । जाँच गर्दा पाठेघरको मुख ४ से.मी खुलेको थियो र सन्तोषजनक सुधार नभएकोले गर्दा थप उपचारका लागि उनलाई माथिल्लो केन्द्रमा प्रेषण गरियो । उनीहरूसँग पर्याप्त रकम थिएन, त्यसैले उनीहरू हिंडेर घर गए र त्यसदिन घरमै बसे । त्यसपछि चैत्र २७ गतेका दिन केही रकम जम्मा गरी एम्बुलेन्स भाडामा लिई उनीहरू साँझतिर सल्यान अस्पताल, खलंगा आइपुगे । हामीले जाँच गर्दा उनको पाठेघरको मुख ४ से.मी खुलेको थियो । भ्रुणको मुटुको धड्कन राम्रै थियो । हामीले अक्सिटोसिन चलायौं । रातको समयमा केही सुधार भयो, बिहानीपख पाठेघरको मूख ६ से.मी जति खुल्यो भने २८ चैत्रको बिहान करिब ७ से.मी खुल्यो । दिउँसो २ बजेतिर पनि पाठेघरको मुख त्यति मात्रै खुलेको थियो । त्यसपछि हामीले उसको सेजरियन सेक्सन गर्ने निर्णय गर्यौं । हामीले विरामी पक्षलाई वैकल्पिक उपचार व्यवस्थापन बारे बतायौं । शुरुमा उनीहरू शल्यक्रियाका लागि मञ्जुरीनामा दिन हिच्किचाइरहेका थिए । अरु कुनै विकल्पहरू नभएकाले उनीहरू माने र हामीले शल्यक्रिया थाल्यौं । त्यसपछि हामीले सफलतापूर्वक २७०० ग्राम तौलको छोरा जन्मायौं । शल्यक्रिया पछि छिट्टै नै निको भइन् भने सातौं दिनमा टांकाहरू निकालिसकेपछि उनलाई घर पठाइयो । यसरी सल्यान अस्पतालले पहिलो पटक शल्यक्रिया सेवाको ढोका खोल्यो ।

यो सफलता अस्पतालका सबै कर्मचारीहरूको सहयोगको कारण भएको हो त्यसैले म सबैलाई आमा र शिशुको अमूल्य ज्यान बचाउन गरेको सहयोगको लागि धन्यबाद दिन चाहन्छु र भविष्यमा पनि निरन्तर सहयोग पाउने आशा गर्दछु ।

डा. सनिज सिंह
एमडीजिपी
सल्यान अस्पताल

Share this: