लिखित कथाहरु

दुर्गम क्षेत्रमा डाक्टर हुनुपर्दा

14 Sep, 2016 By: डा. सुरेन्द्र बस्नेत

“नमस्ते डाक्टर साब !” अस्पतालबाट हिड्नै लाग्दा एउटा मधुरो आवाजले मलाई रोक्यो । २०६७ आषाढ २ गते दिनको ४ बजेको समय थियो त्यो ।

“नमस्ते !” मैले नचाहँदा नचाहँदै उत्तर फर्काएँ । दिनान्तमा फेरि अर्को विरामी ? हे भगवान ! के अन्तिममा मैले चाहेको यहि थियो त । यी विरामीहरू किन समयमै उपचार गराउन आउँदैनन् ? म सोच्दै थिएँ । मैले केही शब्द बोल्नु अगावै जिङरिङ्ग कपाल र थकित अनुहार भएको पातलो अधवैंशे व्यक्तिले मेरो ध्यानाकर्षण गर्यो । उसको चाउरी परेको निधार र राता आँखाले उसलाई वास्तविक उमेर भन्दा धेरै बुढो देखाएको थियो । सायद, उसले हप्तौंसम्म आफ्ना लुगाहरू धोएका थिएनन् होला । मेरा सोचहरू एक्कासी भत्कन पुगे जब उसले विलाप गर्न थाले “कृपया, डाक्टर साब, मसँगै मेरो घर हिड्नुहोस्, म समस्यामा छु र तपाईं मात्रै मेरो आशा हो.......मेरी श्रीमती..... मेरी श्रीमती.......” यसभन्दा बढी उसले बोल्न सकेन, ऊ रुन थाले...... ऊ चिन्तित र छटपटीमा थियो ।

“कृपया शान्त हुनुहोस् । मलाई भन्नुहोस्, तपाईंको श्रीमतीलाई के भएको हो ?” अवश्य केही गम्भीर घटना भएको हुनुपर्दछ । मैले उसलाई कुर्सीमा बस्न अनुरोध गर्दै घटनाबारे बेलिविस्तार गर्न हौस्याएँ । “उनी नौ महिनाको गर्भवती छिन्, हामी एउटा बच्चाको अपेक्षा गरिरहेका छौं । हिजो रातीबाट उसको पेट दुखिरहेको छ, मैले सोचें यो खासै असान्दर्भिक होइन । त्यसैले आज विहान म कामका लागि निस्किएँ, तर जब म घर फर्कें, त्यस्तै तीन बजेतिर, उनी रक्ताम्मे थिइन् ...... उनी रगतको आहालमा थिइन् ...... उसले मलाई भनिन् कि उनको त विहान ११ बजेदेखि रगत बगिरहेको थियो । कृपया डाक्टर साब सँगै आउनोस् । कृपया उसलाई बचाउनोस् !”

“ठिक छ, मैले बुझें । तर उसलाई यहाँ अस्पतालमा ल्याएको भए अझ राम्रो हुने थियो किनकी यहाँ व्यवस्थापनको लागि राम्रो स्थिति छ ।”

“मैले त्यसैबारे पनि सोचेको थिएँ तर मेरो घर वरिपरि कोही व्यक्ति छैन र म एक्लै उसलाई अस्पतालसम्म बोक्न पनि सक्दिन” उसले सुँक्सुँकाउँदै भक्कानिंदै भन्यो ।

“तपाईंको घर कहाँ हो ?”
“तालेखु, त्यहाँ पुग्न करिब ३० मिनेट जति लाग्दछ ।”
“ठिक छ, चिन्ता नलिनुस् । हामी केही व्यवस्था गर्नेछौं ।”

केही क्षणमै डा. सुदिप खनाल र सिस्टर भेषमाया आकस्मिक औषधीका साथमा उसको घर जान तयार हुनु भयो ।

साँझ ५.३० बजेतिर, डा. सुदिपले मलाई फोनमा भन्यो “हेलो डा. सुरेन्द्र, विरामी फुस्री देखिन्छन् र अहिलेसम्म पनि योनीबाट रगत बगिरहेको छ, भ्रुणको मुटुको धड्कन पनि सुनिंदैन, कृपया प्रसुती कक्षमा आवश्यक व्यवस्था मिलाउनु । हामी १५ मिनेटमा त्यहाँ पुग्छौं होला ।”

१५ मिनेटपछि डा. सुदिप, सन्तोष लामा (विरामीका श्रीमान्) र बाटोमा उनीहरूलाई साथ दिने केही गाउँलेहरूले ती महिलालाई स्ट्रेचरमा बोक्दै थिए, सलाइन पानीका साथ, भेषमाया सिस्टर रिङ्गर लाक्टेटको बोतल पक्डिरहेकी थिइन् ।

साँझको छ बजे, प्रसुती कक्ष, जिल्ला अस्पताल, मनाङ

रक्तचाप– ९०÷६० mm
नाडीको गति– १२० पटक प्रति मिनेट
फुस्रो, छटपटी
भु्रणको मुटुको धड्कन– छैन
पाठेघरको खुम्चाई छैन
अन्तिम पटक महिनावारी भएको मिति– २०६६/७/१२
सुत्केरी हुने अनुमानित मिति– २०६७/४/१९
यानैबाट रगतका चोक्टाहरू बगिरहेको

“उनको धेरै रगत बगिसकेको छ । हेमोग्लाबिन, रक्तसमूह जाँचको रगत पठाऊ र दुवै हातका नसा खोली हायमासिल र रिङ्गर लाक्टेट चढाऊ ।”

मलाई थाहा छ उसलाई रगतको बदलामा रगत नै चाहिन्छ तर हाम्रो जिल्लामा ब्लड बैंक छैन । हामी कसरी उसको व्यवस्थापन गर्न जाँदैछौं ? म चिन्तित थिएँ ।

डा. सुदिप “तपाईं के सोच्नु हुन्छ ?”

“३३ हप्ता २ दिनको गर्भवती महिला आज विहानसम्म पनि दुखाई भोगिरहेकी थिइन् । त्यसमा पनि उसको पाठेभरको खुम्चाई थिएन, योनीबाट रगत बग्न थाल्यो, दुखाई थिएन, यो सम्भवतः प्लासेन्टा प्रेभिया वा एबु्रप्सियो प्लासेन्टा वा यो भन्दा पनि जटिल पोटेघर च्यातिएको हुन सक्छ भने शिशुको मृत्यु नै भइरकेको छ ।”

डा. सुदिपले थपे “समस्या के हो भने प्लासेन्टा प्रेभियामा योनी परीक्षण गर्न हुँदैन, यसले अझै स्थिति खराब बनाउन सक्छ ।”

“उसलाई सेजरियन सेक्सनको आवश्यकता छ ।”
“त्यो पनि तुरुन्तै”

जिल्ला अस्पताल मनाङमा शल्यक्रिया कक्ष र सघन आकस्मिक प्रसुती सेवा उपलब्ध छैन । त्यसैले उसलाई सघन आकस्मिक प्रसुती सेवा भएको नजिकैको केन्द्र लमजुङ वा पोखरा पठाउनु पर्ने हुन्छ ।  यदि हामीले काँधमा बोकी कुदाउने हो भने पनि त्यहाँ पुग्न २ दिन लाग्ने छ । र हामीलाई थाहा छ उनीसँग त्यति समय छैन । त्यसैले बाँकी एउटै बिकल्प भनेको हेलिकप्टर हो । तर त्यो महँगो, अति नै महँगो छ, काठमाडौंसम्म रु. १३७,००० र पोखरासम्म रु. ११०,००० लाग्दछ । त्यो परिवारको पारिवारिक स्थिति यस्तो थियो कि तिनीहरूसँग सायदै रु. १०,००० नगद साथमा थियो ।

डाक्टर, उनको रक्तसमूह B+ve
हेमोग्लोबिन– ९ग्राम%
रक्तचाप– १००/७०
नाडीको गति– ११० पटक प्रति मिनेट

हामीले विरामीको अवस्थाबारे परिवारजनलाई भन्नु पर्ने थियो र विरामीलाई उद्धार गरी राम्रो ठाउँमा पठाउन आवश्यक व्यवस्था मिलाउनु पर्ने थियो । “उसको अवस्था नाजूक छ । उसको रगत धेरै बगिरकेको छ र अझै पनि बग्दैछ । पेटको बच्चा मरिसक्यो । उसलाई तुरुन्तै रगत दिनुपर्छ र शल्यक्रिया– सेजरियन सेक्सन गर्नुपर्छ । हाम्रो दुर्भाग्य, हामीसँग यहाँ कुनै यस्तो सेवा छैन । त्यसैले उसलाई राम्रो ठाउँमा प्रेषण गर्नुपर्छ । लमजुङ वा पोखरा वा काठमाडौं, यथाशक्य छिटो ।”

दुर्गम क्षेत्रमा धेरै कठिनाईहरू छन्, अभाव छ, जीवन साह्रै नै कठिन छ तर पनि मानिसका आशा जिवित छन्, शायद त्यो नै उनीहरूको ठूलो शक्ति हो । मानिसहरू एकत्रित छन् । जुनसुकै कार्यमा पनि सक्रिय भई संलग्न हुनु यहाँको संस्कृति नै हो चाहे त्यो भोज भतेर होस् वा कुनै कठिन अवस्था । चामे आमा समूह भीडबाट बाहिर निस्के, तिनीहरूले प्रत्येक सरकारी कार्यालय, व्यक्ति, होटेल, पसलबाट रकम संकलन गरे भने परिवारका महिला सदस्यले पनि सक्दो सहयोग गरे । एकै रातमा उनको उद्धार गरी हेलिकप्टरबाट काठमाडौं पठाउन चाहिने रकम संकलन गरे ।

हामी मानिसहरू जुनसुकै विपत्तिमा पनि बाँच्न सक्छौं तर प्रकृतिका विरुद्ध कसले पो लड्न सक्छ र ? एकाएक मौसम खराब भयो । रातभरि पानी परिरहेको थियो । विहान समेत आकाश बादलले ढाकेको थियो भने वर्षा निरन्तर नै थियो । हाम्रो चुनौती अझै सकेको छैन ।

विहान ९.०० बजे जिल्ला अस्पताल, मनाङ

हेमोग्लोविन– ७ ग्राम%

हामीले गर्न सक्ने भनेको उनको प्रमुख जीवन प्रकृया चलाइराख्नु थियो, रिङ्गर लाक्टेट, हायमासिल दिएर, पूर्णरुपमा आराम दिएर र सायद पर्खनु थियो, मौसम सफा होस् भनेर पर्खनु र हेलिकप्टर आओस् भनेर पर्खनु । पर्खाइ पीडादायी हुन्छ र अझै धेरै पीडादायी हुन्छ जब तपाईंलाई थाहा हुन्छ कि समयले विस्तारै तपाईंलाई मार्दैछ । हामी दुई जना डाक्टरहरू हरबखत उनलाई सहयोग गर्ने प्रयत्नमा उनको छेउमा थियौं तर साँचिक्कै भन्नुपर्दा हामी लाचार थियौं । म तपाईलाई भन्छु, दुर्गम क्षेत्रमा डाक्टर बन्न त्यति सजिलो छैन । तपाईलाई थाहा छ के गर्नु पर्छ, तपाईंसँग ज्ञान पनि छ तर तपाई केही गर्न सक्नु हुन्न र हामी पनि त्यस्तै अवस्थामा थियौं ।

ती महिला सीमा लामा हुन्, ३० वर्षकी । उनको पहिलो श्रीमान्बाट ४ जना सन्तान छन् भने यो बच्चा अहिलेको श्रीमान्को तर्फबाट पहिलो हो । वर्षात् मै पूरा दिन बित्यो । मौसम सफा हुने कुनै लक्षण थिएन । विरामी पक्ष चिन्तित थियो भने त्यसभन्दा बढी हामी । उनीहरू विरामीलाई स्टे«चरमा बोकी लमजुङ लान चाहन्छन् । तर हामीलाई थाहा छ सलाइन पानी बिना उनको रक्तचाप विस्तारै घट्छ र लमजुङ पुगुञ्जेलसम्म उनी बाँच्न सक्दैन, फेरि वर्षात्को दिनमा स्टे«चरमा बोकेर लानु सजिलो पनि छैन । हामी सबैजना मौसम राम्रो होस् भनेर प्रार्थना गरिरहेका थियौं ।

साँझ ६.०० बजे
हेमोग्लाविन – ५ ग्राम%
रक्तचाप– १००/७० mmhg
नाडीको गति– १२० पटक प्रति मिनेट

अवस्था खराब हुँदै गएको थियो । मैले कहिल्यै सोचेको थिइन कि एक रात यतिको लामो हुन सक्छ भनेर । सायद त्यो रात मेरो जीवनकै सबैभन्दा लामो रात थियो । लाग्दथ्यो कि त्यस रात घडीका सेकेण्ड सुई, मिनेट सुई, घण्टा सुई सबै थाकेर विश्राम गरिरहेका थिए । हामी प्रत्येक ३० मिनेटमा उनको जीवन प्रकृया जाँच गरिरहेका थियौं, रक्तचापलाई व्यवस्थित बनाउन हरदम प्रयासरत ।

चमत्कार पनि हुँदो रहेछ । मौसम राम्रो भयो । वर्षात् रोकियो र विहान सखारै निलो आकाशका केही खण्ड देखियो । हामी अति हर्षित भयौं ।

साँझ ६.०० बजे
हेमोग्लाविन – ४ ग्राम%
रक्तचाप– १००/६० mmhg
नाडीको गति– ११० पटक प्रति मिनेट

मध्यान्ह १२.०० बजे, २०६७ आषाढ ४ गते, अन्तमा हेलिकप्टर अवतरण गर्यो । देवकी सिस्टर विरामीसँगै जानु भयो । यतिखेर उहाँ काठमाडौं तर्फ उड्दै हुनुहुन्छ । अझै उहाँले एक घण्टा पर्खनु पर्दछ । हामीले प्रदर्शनीमार्ग, काठमाडौंको ब्लड बैंकलाई फोन गरी रगतको व्यवस्था गरिरसकेका थियौं । अहिले चाहीँ हामी अलिकति राहत महशुस गरिरहेका छौं ।

दिउँसो ३.०० बजे
देवकी सिस्टरले प्रसुती गृह, काठमाडौंबाट मलाई फोनमा भन्नु भयो “डा., हामी अहिले इमरजेन्सीमा छौं । यहाँका डाक्टरहरूको विचारमा यो प्लासेन्टा पे्रभिया वा पाठेघर च्यातिएको हुन सक्छ रे । तिनीहरू आकस्मिक शल्यक्रियाको व्यवस्थापन गर्दैछन् ।” अब हामीलाई आशा जागेको छ कि कमसेकम आमा भए पनि जिउँदै घर फर्कनेछन् ।

साँझपख हामीलाई थाहा भयो कि शल्यक्रिया सफल भयो, उनीहरूले आमाको जीवन रक्षा गरे । यो खबरले ठूलो राहत ल्यायो । हाम्रो प्रयास खेर गएन । मैले लामो श्वास फेरें र भगवानलाई धन्यबाद दिएँ । जीवनका क्षणहरू हुन् ती– सन्तुष्टिको क्षण, ती क्षणहरूले ल्याएको गहिरो सन्तुष्टिको अनुभूतिलाई केहीले पनि मात गर्न सक्दैन । मानवीय जीवन रक्षार्थको प्रयासको एउटा अंश हुँदै थिएँ ।

त्यो एब्रुप्सियो प्लासेन्टाको केस थियो र शिशुको मृत्यु भैसकेको थियो । तिनीहरूले दुवै डिम्बवाहिनी नलीलाई बाँधी पनि दिए ।

विहान ११.०० बजे, भाद्र २०६७

“डाक्टर साब नमस्कार” एक अधवैंशे व्यक्ति बहिरङ्गमा थिए । दुई महिना अगाडिको यो अनुहार चिन्न मलाई कुनै समस्या थिएन । सफा लुगा र काटिएको कपालमा उनी जवान देखिन्थ्यो र महत्वपूर्ण कुरा उसको अनुहारमा दुःख र चिन्ता थिएन । उसका आँखाहरूमा कृतज्ञनता देख्न सकिन्थ्यो । उसले थपे “सायद तपाईंले मलाई भुल्नु भयो डा. साब, म सन्तोष लामा, सीमा लामाको श्रीमान् । एक हप्ता भयो हामी फर्केको ।” मैले उसलाई रोक्न नपाउँदै एकै साँसमा उसले भने “उनी अहिले  ठिक छिन् । अब हामीले सन्तान जन्माउन सक्ने छैनौं तर पनि म खुशी छु । कमसेकम उनी त मसँगै जिवित छन् । तपाईं यहाँ नभएको भए के हुन्थ्यो भन्ने कुरा सायद भगवानलाई थाहा छ । तपाईंको प्रयासको लागि धन्यबाद । मेरी श्रीमतीकोे जीवन बचाउनु भएकोमा धन्यबाद । तपाईले मलाई लगाएको गुण म कहिल्यै भुल्ने छैन डा. साब । लिनुस् हाम्रो बगैंचाबाट भर्खर टिपेर ल्याएका स्याउहरू । मेरी श्रीमतीले तपाईंको लागि पठाई दिएकी ।”

उसले मलाई स्याउ दिए । मैले मात्र धन्यबाद भन्न सकें । म निःशब्द थिएँ । मैले अरु केही भन्नु अगावै ऊ मेरो नजरबाट टाढा गइसकेको थियो । ताजा राता स्याउहरू मेरा हातमा थिए । म सोच्दै थिएँ कसले भन्यो स्याउले डाक्टरबाट टाढा राख्दछ भनेर, मनाङ, मुस्ताङ अनि जुम्ला आउनोस् तपाईंले धेरै स्याउहरू पाउनु हुनेछ तर के यसले डाक्टरको आवश्यकतालाई विस्थापित गर्न सक्छ ?

सायद जनताको आदर र सम्मान नै म जस्ता डाक्टरहरूको लागि अमूल्य पुरस्कार हो जसले नेपालका दुर्गम क्षेत्रमा सेवा गर्नुको महत्व सावित गर्दछ । र यसमा मलाई गर्व छ ।

डा. सुरेन्द्र बस्नेत
जिल्ला अस्पताल मनाङ

Share this: